“प्रथम अल्फा & ओमेगा अन्तर-मण्डली 5 A Side फुट्सल प्रतियोगिता-२०२२” को उपाधि होसन्ना नेपाली मण्डलीलाई

सिड्नी- प्रसन राईको उत्कृष्ट प्रदर्शनमा “होसन्ना नेपाली मण्डलीको फुट्सल टिमले “प्रथम अल्फा & ओमेगा अन्तर-मण्डली 5 A Side फुट्सल प्रतियोगिता-२०२२को उपाधि जितेको छ। गत नोवेम्बेर ६, आईतबारको दिन  सम्पन्न फाइनलमा टिम होसन्नाले UNCC नेपाली मण्डली लिभरपुललाई फाईनलमा २-१ ले हराउदै उपाधि हात पारेको हो। 
अस्ट्रेलियामा रहेका नेपाली मण्डलीहरु बीच एकआपसमा भेटघाट, भातृव र सद्भाव कायम राखिराख्ने उद्देश्यले स्थापित भएको “ग्रेस नेपाली डाएस्पोरा कम्युनिटी” नामक संस्थाले आयोजना गरेको उक्त प्रतियोगितामा सिड्नीमा रहेका ७ वटा मण्डलीहरुबाट ११  र क्यानबेराबाट १ अनि आयोजकको १ टिम गरि जम्मा १३ टिमको सहभागिता रहेको थियो।
झन्डै १०० जनाजति खेलाडी र ८० जना जति समर्थकको उपस्थितिमा सम्पन्न भएको उक्त १ दिने प्रतियोगितामा प्राय: सबैजसो मण्डलीहरुका अगुवाहरुको पनि उपस्थिति थियो भने हिजग्लोरी नेपाली चर्चका अगुवा एल्डर अरुण लिम्बु र फाइनलमा पुग्न सफल UNCC मण्डलीका पास्टर अनिल श्रेष्ठ स्वयम खेलमैदानमा उत्रनु भएको थियो।
सिड्नी नेपाली मण्डलीले फेयर प्ले को उपाधि हात पार्दा, क्यानबेरा नेपाली मण्डलीले भने तेस्रो स्थानमा चित्त बुझायो। उच्च गोलकर्ता र बेस्ट डिफेन्डरको उपाधि होसन्नाकै क्रमश: प्रसन राई र अविनाश तामांग भए भने, बेस्ट प्लयेरको उपाधि क्यानबेरा मण्डलीका कमल नेपालीले जित्न सफल भए। UNCC लाई फाईनलसम्म पुर्याउन उच्च प्रदर्शन गरेका UNCC का गोलकिपर  सागर पौडेलले जिते। 

खेलको पुरुस्कार वितरण उपस्थित अगुवाहरुले  पालैपालो एक-अर्काको टिमलाई प्रदान  गर्नुभएको थियो भने बिजेताको ट्रफी सिड्नी नेपाली मण्डलीका पास्टर जीवन श्रेष्ठले होसन्ना मण्डलिका पास्टर अनिश रिमाललाई हस्तान्तरण गर्नुभएको थियो। ग्रेस नेपाली डाएस्पोरा कम्युनिटीका सदस्य सरन क्षेत्री र अमोन मगरले संचालन गर्नुभएको समापन समारोहमा प्रतियोगी र समर्थकहरुलाई धन्यबाद दिंदै ग्रेस नेपाली डाएस्पोरा कम्युनिटीका सचिव सिमोन भाटले यसप्रकारको एतिहासिक  अवसरको साक्षी बन्न पाएको भन्दै सबै मण्डलीका सदस्यहरु र परमेश्वर प्रति धन्यबाद ज्ञापन गर्दै आउँदा दिन अझै यस्तै खालका कार्यक्रम आयोजना गर्ने प्रेरणा मिलेको बताउनु भयो।    प्रतियोगिताको समापनमा आशिषको प्रार्थना गर्दै होसन्ना मण्डलीका पास्टर अनिश रिमालले यो प्रतियोगिताको माध्यमले सबैजनालाई एकैठाउँमा ल्याउन भूमिका खेलेकोमा खुसि व्यक्त गर्नुभयो। क्यानबेरा स्थित सभान्ना मोटर्सले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा सिड्नी नेपाली मण्डलीले खाजाको स्टलको निम्ति व्यवस्था गरेको थियो। 

प्रतियोगितामा सहभागी  टिमहरुको नामावली :

१. ANCC नेपाली मण्डली, लिभरपुल- १ टिम 

२. UNCC नेपाली मण्डली, लिभरपुल- २ टिम 

३. हिजग्लोरी नेपाली मण्डली, ग्रयानभील- २ टिम 

४. होसन्ना नेपाली मण्डली- अबर्न- २ टिम 

५. सिड्नी नेपाली मण्डली- अबर्न- २ टिम 

६. क्यानबेरा  नेपाली मण्डली- १ टिम 

७. अराईज एण्ड शाईन नेपाली मण्डली- रकडेल- १ टिम 

८. ट्रिनिटी नेपाली मण्डली- हर्स्भिल- २ टिम 

९. ग्रेस टिम (आयोजक)- १ टिम   

कार्यक्रमको अन्त्यमा UNCC का पास्टर अनिल श्रेष्ठले अन्तिम प्रार्थना गरेसंगै कार्यक्रम टुंगिएको थियो।

अलेक्ज्यान्डर महानको राज्य चार भागमा टुक्रिंदा: बाइबलको भविष्यवाणी पूरा भयो

३५६ ख्रिस्टपर्वमा जन्मेका अलेक्ज्यान्डर महान विश्व विजेता दिए। बिस वर्षकै उमेरमा सिंहासनमा बसेका तिनले आफ्नो अधिकांश शासनकाल युद्धमा बिताए। एसियादेखि उत्तरपूर्वी अफ्रिकासम्म युद्ध लड्दै आएका तिनले ३२ वर्ष नपुग्दै प्राचीन संसारको एउटा विशालतम साम्राज्य खडा गरे । तिनी युद्धमा पराजित हुँदैनथ्ये र तिनलाई संसारकै एक सर्वाधिक सैनिक कमान्डरको रूपमा हेरिन्छ । १३ वर्षको छोटो अवधिमा तिनले प्राचीन संसारका अधिकांश ज्ञात भूमिहरूमाथि विजय हासिल गरेका थिए।

विश्वको इतिहासमा अलेक्ज्यान्डर महान् यति महत्त्वपूर्ण पात्र थिए कि दानिएल २, ७, ८ र ११ अध्यायहरूमा तिनी र तिनको राज्यको विषयमा भविष्यवाणी गरिएको पाउँछौँ हामी । परमेश्वरको प्रेरणा पाएर दानिएलले चारवटा विश्व साम्राज्यको अनुक्रमणवारे भविष्यवाणी गर्नुका अतिरिक्त तिनका भविष्यवाणीहरूमा अन्य विविध कुराहरूमा पनि समेटिएका छन् जसमध्ये एउटा घतलाग्दो भविष्यवाणी हो: ग्रिक साम्राज्य चार भागमा विभाजित हुनेथियो । दानिएल ११:३-४ मा अलेक्ज्यान्डर महानको बारेमा यसरी भविष्यवाणी गरियो, “त्यसपछि एक जना शक्तिशाली राजा खडा हुनेछन्, जसले आफ्नो ठुलो शक्तिसाथ शासन गर्नेछन् र जे मन लाग्यो त्यही गर्नेछन् । उनी खडा भएपछि, उनको साम्राज्य टुक्रिनेछ र स्वर्गका चार बतासतिर बाँडिनेछ, न त उनले चलाएको अधिकार त्यसको हुनेछ, किनभने उनको साम्राज्य जरैसमेत अखेलिनेछ र अरूलाई दिइनेछ।”

अलेक्ज्यान्डर महान्को मृत्यु यति अकस्मात् भएको थियो कि ग्रिसमा तिनको मृत्युको खवर आउँदा त्यसलाई तत्काल विश्वास गरिएको थिएन। केवल ३२ वर्षको उमेरमा १० जुन ३२३ मा बेबिलोनस्थित नबुकदनेसर द्वितीयको दरबारमा अलेक्ज्यान्डर महानको निधन हुँदा तिनको कुनै प्रस्ट उत्तराधिकारी नभएकोले तिनको शक्तिशाली साम्राज्य बाइबलले भविष्यवाणी गरेझैँ चार भागमा बाँडिएको थियोः एन्टिपाटेर र पछि कैसन्डरको अधीनमा माकेडोनिया र ग्रिस, समाखसको अधीनमा थ्रेस र एसिया माइनर, सिलुकसको अधीनमा सिरिया अनि टोलेमीको अधीनमा मिश्र र प्यालेसटाइन । बाइबलका भविष्यवाणीहरू कति साँचा छन् भन्ने यो एउटा ज्वलन्त  उदाहरण हो । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र अन्यबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्” (२ पत्रुस १:२१) ।

ग्ल्याडिएटरको कथा !

प्राचीन रोममा एउटा यस्तो डरलाग्दो खेल खेलिन्थ्यो जसलाई ग्ल्याडिएटर भनिन्थ्यो । यो खेलमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो यस्तो अमानवीय खेलको सिकार भई दस हजार मानिसले आफ्ना जीवन गुमाए। रोमीहरूको बुझाइमा मानवीय जीवन कति सस्तो रहेछ भनी यस खेलले छर्लङ्ग पार्छ।कहिलेदेखि यो खेलको सुरुआत भयो भन्ने विषयमा प्रारम्भिक साहित्यिक स्रोतहरू बिचमा मतैक्य छैन। रोमी लेखक उसोनियसका अनुसार रोममा २६४ ईशापूर्वमा यो खेलको आरम्भ भएको थियो। ख्रिस्टियमत रोमसम्म आइपुग्दा मान्छेले मान्छेलाई मारेर मनोरञ्जन लिने यस खेलको नतिजास्वरूप हजारौंले ज्यान गुमाइसकेका थिए आदि ख्रीस्ष्टियानहरू यस्तो खेलदेखि डराउँथे किनकि यो कुनै खेल नभई हत्या थियो “हत्या नगर्नू” (प्रस्थान २०:१३) भन्ने परमेश्वरको आज्ञाबारे तिनीहरू सचेत थिए । यस्तो रक्तपात प्रतिस्पर्धालाई तिनीहरूको कुनै अनुमोदन थिएन। यस्तो खेलमा भाग लिने मान्छेले आफ्नो पेसा नबदलेसम्म मण्डलीले उसलाई बप्तिस्मा दिदैनथ्यो। ख्रीष्टियान शिक्षाको प्रभावको नतिजास्वरूप रोमी सम्राट् कन्स्टेन्टाइनले यस अमानवीय खेलको निषेध गरे । तर जनताहरू यसमा लागिरहे। राज्यको विरुद्धमा विद्रोह नहोस् भन्ने हेतुले तिनीहरूलाई आफ्नो इच्छा पूरा गर्न अनुमति दिइयो।एउटा स्रोत अनुसार यो १ जनवरी ४०४ को कुरो हो। मानिसहरू रङ्गशालामा सदाई खेल हेर्न झुम्मिएका थिए। खेल सुरु हुने लागेको थियो । टेलेमाखस नाम गरेका खीष्टियान सन्त मैदानमा ओर्लिए र तिनले ती लडाकुहरूलाई छुट्टयाउने कोसिस गरे । त्यस दृश्यलाई देखेर दर्शकगण यति क्रुद्ध भए कि तिनीहरूले तिनीमाथि दुङ्गा बर्साए र तिनी मारिए। टेलेमाखसको साहस र सहादतबाट खीष्टियान सम्राट् होनोरिअस अति प्रभावित भए र ख्रिस्टाब्द ४०४ मा तिनले यस हिसात्मक खेललाई निषेध गरे।आफ्नो सहादतमा सन्त टेलेमाखस विजयी बने। मान्छेको शरीरबाट रगतको धारो बगाउने खेल सदाको लागि बन्द हुन पुग्यो। तिनी नै रङ्गशालाको अन्तिम सहिद बने । फेरि यस हिंसात्मक खेलद्वारा अरूले आफ्नो रगत बगाएर रङ्गशालाको मैदानलाई भिजाउनुपरेन धन्य टेलेमाखस जसले आफ्नो प्राणको आहुति दिएर त्यस पशुवत् खेललाई सदाको निम्ति यस धरतीबाट बिदा गरिदिए। मानव सभ्यता निर्माणमा खीष्टियानहरूले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् जसमध्ये यो एउटा ज्वलन्त उदाहरण हो।